9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ ३० औ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम

३० औ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम

2026-05-31 22:49:53

शान्ति समाज स्थापनाको ३० औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रमःमानव अधिकार तथा शान्ति समाज स्थापना भएको ३० औँ वार्षिकोत्सवका अवसरमा २०८३ जेठ १६ देखि जेठ २२ सम्म सप्ताहव्यापी कार्यक्रम गरी स्थापना दिवस मनाइएको थियो । यस क्रममा सल्यान,सुर्खेत,दाङ र काठमाडौँमा सात दिन सम्म कार्यक्रम भएको थियो भने समाजको २७ जिल्ला शाखाले विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएका थिए । सप्ताहव्यापी कार्यक्रमको विवरण यस प्रकार छः 
क) रक्तदान कार्यक्रमः सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेठ १६ गते शान्ति समाजका काठमाडौँ,सुर्खेत, महोत्तरी र दाङ गरी चार जिल्ला शाखाले रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।
काठमाण्डौमा आयोजित रक्तदान कार्यक्रममा  ४२, सुर्खेतमा ३१, महोत्तरीमा १९ र दाङमा १० जना गरी १०२ जनाले रक्तदान गर्नुभएको थियो । 
ख)पुस्तक दानः जेठ १७ गते काठमाडौँ जोरपाटी स्थित  भैरव स्मृति पुस्तकालयलाई संस्थापक सभापति कृष्ण पहाडीसँग रहेका वेद,वेदान्त,पुराण,दर्शन र धार्मिक इतिहासका दर्जनौ पुस्तकहरू प्रदान गरिएको थियो । यसै गरी काठमाडौँ शाखाको संयोजनमा जेठ १८ गते काठमाडौँ गोठाटार स्थित  बाल राष्ट्रिय मा.वि.को पुस्तकालयलाई संस्थापक सभापति कृष्ण पहाडीसँग रहेका अन्तरिक्ष विज्ञान, परा मनोविज्ञान, उपनिषद, १८ पुराण र धार्मिक इतिहासका सयौं पुस्तकहरू प्रदान गरिएको थियो । 
चितवन शाखाले जेठ २१ गते भरतपुर स्थित रामेश्वर पुस्तकालयलाई मानव अधिकार सम्बन्धि पुस्तकहरु प्रदान गरेको थियो ।
ग) वस्त्रदान–जेठ १८ गते शान्ति समाज काठमाडौं शाखाद्वारा कागेश्वरी वृद्धा सेवा आश्रमलाई दर्जनौ वस्त्र सहित रु.१० हजारको खाद्यान्न सहयोग प्रदान गरिएको थियो ।
घ) आदर्श नागरिक समाजको परिकल्पना ः शान्ति समाजले अवलम्बन गरेको बाटो विषयक २४ वटा नागरिक संवाद कार्यक्रम सम्पन्नः मानव अधिकार तथा शान्ति समाज स्थापनाको ३० औ वार्षिकोत्सवका  अवसरमा २०८३ जेठ १९ गते आदर्श नागरिक समाजको परिकल्पना ः शान्ति समाजले अवलम्बन गरेको बाटो विषयक नागरिक संवाद कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको थियो ।समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको सभापति  समिक्षा बाँस्कोटा (रास्वपा) र नेपाली काँग्रेसका  सांसद रेखा यादवले मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रमुख वक्ताका रूपमा समाजका संस्थापक सभापति कृष्ण पहाडीले सम्बोधन गर्नु भएको कार्यक्रममा समाजद्वारा तयार गरिएको आदर्श नागरिक समाजको परिकल्पना ः शान्ति समाजले अवलम्बन गरेको बाटो विषयक शान्ति समाजद्वारा तयार गरिएको चार पृष्ठको अवधारणा पत्र कोषाध्यक्ष  चन्द्रमणि बन्जाराले प्रस्तुत गर्नु भएको थियो । सो अवधारणा पत्र माथि आलोचनात्मक टिप्पणीका लागी वरिष्ठ पत्रकार कृष्ण मुरारी भण्डारी लाई आमन्त्रण गरिएको थियो । यसै गरी समाजका संस्थापक सदस्य कृष्ण कँडेल,निवर्तमान सभापति  रामकृष्ण बराल, सल्लाहकार राम प्रसाद जोशी, काठमाण्डौ शाखा सभापति विकास थापा, ललितपुर सभापति बाबुराम न्यौपानेले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा समाजको स्थापना दिवसका अवसरमा काठमाण्डौमा आयोजित विभिन्न कार्यक्रमको संयोजन गर्ने सदस्यहरु पठन संस्कृति प्रवद्र्धन अभियानको  संयोजक ईश्वर पुडासैनी,खाद्यान्न दान कार्यक्रम संयोजक सार्जन चापागाईँ, पुस्तक दान कार्यक्रम संयोजक रबिना पौडेल,रक्तदान कार्यक्रम संयोजक नवराज चापागाईँले संक्षिप्त अनुभव प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले गर्नु भएको थियो । यसै गरी जेठ १९ गते शान्ति समाजका अछाम कैलाली मुगु सुर्खेत सल्यान बाँके दाङ गुल्मी कपिलवस्तु रुपन्देही पाल्पा कास्की म्याग्दी गोरखा नवलपुर चितवन महोत्तरी सङ्खुवासभा तेह्रथुम सुनसरी इलामले र जेठ २३ गते नुवाकोट शाखाले र जेठ २४ गते मोरङ शाखाले नागरिक संवाद कार्यक्रम आयोजना गरेका थिए ।
ङ) शैक्षिक सामग्री दान ः जेठ २० गते ललितपुर शाखाको संयोजनमा ज्वालादेवी आधारभूत विद्यालय देवीचौरका ३६ जना विद्यार्थीलाई रु.१८ हजारको शैक्षिक सामग्री प्रदान गरिएको थियो । साथै काठमाडौँ जोरपाटी स्थित सुनौलो पाइलामा आश्रय लिइरहेका नै जना विपन्न विद्यार्थीहरुलाई जेठ २२ गते रु.५ हजार चार सयको शैक्षिक सामग्री प्रदान गरिएको थियो । 
दाङ शाखाले सामुदायिक बिद्यालय बालकल्याण प्रा.बि. डाँडापातु तुलसीपुर ७ का पचास जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको थियो । यसै गरी २०७० सालको बिनासकारी बाढी बाट बिस्थापित वस्तिका वालवालिकाको पठन पाठन का लागि सुर्खेतमा संचालित ने. रा प्रा. बि. बराहताल २ सिस्नेरीमा अध्ययनरत ३३ जना वालवालिका लाई सुर्खेत शाखाद्वारा रु.१६२०० मूल्यको शैक्षिक तथा खेलकुद सामग्रि प्रदान गरिएको थियो भने सल्यान शाखाद्वारा शिवजन मा.वि. शीतलपाटी सल्यानको छात्रावासमा रहेका दृष्टिविहीन छात्र छात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । 

च) अन्नदानः जेठ २१ गते काठमाडौँ शाखाको संयोजनमा नेपाल नेत्रहीन सङ्घ महिला छात्रावास तथा तालिम केन्द्र, डाँछीमा दृष्टिविहीन दिदीबहिनीहरूलाई रु.२० हजारको खाद्यान्न प्रदान गरिएको थियो  । 
सुर्खेत शाखाद्वारा जेठ १७ गते स्थानीय आश्रममा एक छाक भोजनको व्यवस्था गरिएको थियो ।दाङ शाखाले जेठ १७ गते चार जना दृष्टिविहीन सहितको एक गन्धर्व परिवारलाई खाद्यान्न सहयोग गरेको थियो । बाग्लुङ शाखाले जेठ १९ गते बाढी पहिरो पिडित परिवारलाई खाद्यान्न सहयोग गरेको थियो ।  
छ) वातावरण दिवसमा जलवायु न्याय संवाद र वृक्षरोपणः  ५४ औं विश्व वातावरण दिवस (जुन ५) तथा शान्ति समाज स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको सातौ दिन काठमाडाँै शाखाद्वारा कागेश्वरी मनहरामा ‘जलबायु न्यायमा स्थानीय तहको भूमिका’ विषयक नागरिक संवाद सम्पन्न भएको थियो । यसै गरी रुपन्देही शाखाले बुटवलमा, चितवन शाखाले भरतपुरमा, सल्यान शाखाले त्रिवेणी गाउँ पालिका लुहाममा वृक्षरोपण र दाङ शाखाले तुलसीपुर १२ स्थित  वृद्धाश्रमा रहेका बोट बिरुवा गोडमेल तथा सरसफाइ गरेको थियो । विश्व वातावरण दिवसका अवसरमा सुर्खेत शाखाद्वारा “जलवायु परिवर्तन र हाम्रो जिम्मेवारी” विषयक वक्तृत्व कार्यक्रम सम्पन्न भएको थियो । 
ज) शान्ति समाज स्थापनाको ३० औँ वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सल्यान शाखाले जेठ १६ गते कुमाख लेकमा सचेतनामूलक कार्यक्रम, १७ गते स्थानीय अस्पतालका बिरामीहरुलाई फलफूल वितरण र जेठ २० गते सरसफाई कार्यक्रम गरेको थियो । 
झ) समाजको स्थापना दिवसको सेरोफेरोमा  दाङ शाखाले लागू औषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम अन्तर्गत दाङका पाँच वटा  विद्यालयमा अन्तक्रिया कार्यक्रम गरेको थियो । जसमा लगभग ५०० जना विद्यार्थीको सहभागिता थियो । यसै गरी स्थानीय अस्पतालका ६५ जना बिरामीहरूलाई   फलफुल बितरण गरेको थियो ।  
ञ)समाजको स्थापना दिवसको सेरोफेरोमा पाल्पा शाखाले जेठ १८ गते त्रिभुवन बहुमुखी क्याम्पस स्नातक तहका विद्यार्थीहरू माझ पठन संस्कृति प्रवद्र्धन केन्द्रित अन्तरक्रिया सम्पन्न गरेको थियो । यसै गरी झापा शाखाले धुलाबारी मा.बि.मा पठन संस्कृति प्रवद्र्धन केन्द्रित अन्तरसम्वाद कार्यक्रम गरेको थियो ।
ट) समाजको स्थापना दिवसको सेरोफेरोमा तेह्रथुम शाखा ले स्थानीय बृद्ध चौतारिमा फलफूल तथा जुस बितरण गरेको थियो भने सुर्खेत शाखाले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा फलफुल वितरण  गरेको थियो ।


 

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links