9851240117

hurpes@gmail.com

Home

About us

Others

Our Campaigns

एक लाख मूल्यको पुस्तक उपहार

6/26/2026

एक लाख मूल्यको पुस्तक उपहार

यातना पिडितहरुको सहायतार्थ २९ औं अन्तर्राष्ट्रिय दिवस २६ जुनका सन्दर्भमा २०८३ असार १२ गते मानव अधिकार तथा शान्ति समाजद्वारा  सानेपा ललितपुरस्थित नेसनल ल कलेज स्थित वि.ए.एल.एल.बी. तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुसङ्ग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको थियो । समाजका सभापति रेनुका पौडेलको प्रस्तुति(बिषयवस्तु केन्द्रित)  रहेको उक्त संवाद कोषाध्यक्ष चन्द्रमणी बन्जाराले सहजीकरण गर्नुभएको थियो भने पुर्व केकास सचीव बल बहादुर गाहामगर, ललितपुर शाखा निवर्तमान सभापति मन बहादुर थापा, शाखा सभापति बाबुराम न्यौपाने तथा आजिवन सदस्य बिश्वरमण न्यौपाने र कलेजको तृष्णा न्यौपानेले संक्षिप्त्त मन्तव्य व्यक्त गर्नुभएको थियो। उक्त अवसरमा शान्ति समाजद्वारा प्रकाशित मानव अधिकारः लोकतन्त्र,शान्ति र अहिंसाको आधार नामक आठ सय पृष्ठको रु. १ हजार मूल्यको १०७ वटा पुस्तक (कुल मूल्य १ लाख ७ हजार) १०० जना भन्दा बढी विद्यार्थीलाई र कलेज लाइब्रेरीलाई केही थान उपहार स्वरुप प्रदान गरिएको थियो।

जनकपुरधाममा समाजसेवा पुरस्कार प्रदान

6/14/2026

  • मानव अधिकार तथा शान्ति समाज द्वारा स्थापित  रु.१ लाख १० हजार राशिको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार  (वर्ष  २०८२)  सामाजिक न्यायका लागि विशिष्ट योगदान हेतु  जनकपुरधाममा २०८३ जेठ ३० गते बिहान आयोजित  कार्यक्रममा श्री ललिता दास तत्मा (सदस्य,मधेस प्रदेश सभा) लाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि  मधेश प्रदेश प्रमुख प्रा. डा .सुरेन्द्र लाभले सम्मान पत्र सहित ललिता दास लाई सो पुरस्कार  अर्पण गर्नु भएको थियो । कार्यक्रममा  प्रमुख अतिथि मधेश प्रदेश प्रमुख प्रा.डा.सुरेन्द्र लाभ,पुरस्कृत व्यक्तित्व ललिता दास तत्मा विद्रोही,जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह,शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, मधेश प्रदेश सभामा नेपाली काङ्ग्रेस प्रमुख सचेतक कुमार कान्त झा प्रदेश सांसदहरू जिवछी यादव, किरण कुमारी शाह,रत्नेस्वर गोइत,राजेन्द्र चौधरी सहित विभिन्न दलबाट प्रतिनिधित्व गर्ने ६ जना सांसदले मन्तव्य व्यक्त गर्नु भएको थियो ।यसै गरी  सामाजिक न्यायको आन्दोलनमा केन्द्रित रही वरिष्ठ अभियन्ता रामरिझन यादवले मन्तव्य व्यक्त गर्नु भएको थियो भने  बद्री प्रसाद पहाडीको बारेमा शान्ति समाज महोत्तरीका सभापति सुवास बिच्छाले र पुरस्कृत व्यक्तित्व श्री ललिता दास तत्माको बारेमा प्राध्यापक चन्द्रेश्वर प्रसाद यादवले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सभापतित्व शान्ति समाज सभापति रेनुका पौडेलले र सञ्चालन महासचिव प्रकाश शाहीले गर्नु भएको थियो । यसै गरी स्वागत गण्डकी प्रदेश सचिव तीर्थराज न्यौपानेले र शान्ति समाज अवधारणा पत्रको अंश केन्द्रीय सदस्य शम्भु राउतले प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा १६ जना प्रदेश सभा सांसद सहित राजनीतिक समाज,नागरिक समाज,स्रष्टाहरू गरी ९० भन्दा बढीको सहभागिता रहेको थियो । 

३० औ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम

5/31/2026

शान्ति समाज स्थापनाको ३० औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रमःमानव अधिकार तथा शान्ति समाज स्थापना भएको ३० औँ वार्षिकोत्सवका अवसरमा २०८३ जेठ १६ देखि जेठ २२ सम्म सप्ताहव्यापी कार्यक्रम गरी स्थापना दिवस मनाइएको थियो । यस क्रममा सल्यान,सुर्खेत,दाङ र काठमाडौँमा सात दिन सम्म कार्यक्रम भएको थियो भने समाजको २७ जिल्ला शाखाले विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएका थिए । सप्ताहव्यापी कार्यक्रमको विवरण यस प्रकार छः 
क) रक्तदान कार्यक्रमः सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेठ १६ गते शान्ति समाजका काठमाडौँ,सुर्खेत, महोत्तरी र दाङ गरी चार जिल्ला शाखाले रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।
काठमाण्डौमा आयोजित रक्तदान कार्यक्रममा  ४२, सुर्खेतमा ३१, महोत्तरीमा १९ र दाङमा १० जना गरी १०२ जनाले रक्तदान गर्नुभएको थियो । 
ख)पुस्तक दानः जेठ १७ गते काठमाडौँ जोरपाटी स्थित  भैरव स्मृति पुस्तकालयलाई संस्थापक सभापति कृष्ण पहाडीसँग रहेका वेद,वेदान्त,पुराण,दर्शन र धार्मिक इतिहासका दर्जनौ पुस्तकहरू प्रदान गरिएको थियो । यसै गरी काठमाडौँ शाखाको संयोजनमा जेठ १८ गते काठमाडौँ गोठाटार स्थित  बाल राष्ट्रिय मा.वि.को पुस्तकालयलाई संस्थापक सभापति कृष्ण पहाडीसँग रहेका अन्तरिक्ष विज्ञान, परा मनोविज्ञान, उपनिषद, १८ पुराण र धार्मिक इतिहासका सयौं पुस्तकहरू प्रदान गरिएको थियो । 
चितवन शाखाले जेठ २१ गते भरतपुर स्थित रामेश्वर पुस्तकालयलाई मानव अधिकार सम्बन्धि पुस्तकहरु प्रदान गरेको थियो ।
ग) वस्त्रदान–जेठ १८ गते शान्ति समाज काठमाडौं शाखाद्वारा कागेश्वरी वृद्धा सेवा आश्रमलाई दर्जनौ वस्त्र सहित रु.१० हजारको खाद्यान्न सहयोग प्रदान गरिएको थियो ।
घ) आदर्श नागरिक समाजको परिकल्पना ः शान्ति समाजले अवलम्बन गरेको बाटो विषयक २४ वटा नागरिक संवाद कार्यक्रम सम्पन्नः मानव अधिकार तथा शान्ति समाज स्थापनाको ३० औ वार्षिकोत्सवका  अवसरमा २०८३ जेठ १९ गते आदर्श नागरिक समाजको परिकल्पना ः शान्ति समाजले अवलम्बन गरेको बाटो विषयक नागरिक संवाद कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको थियो ।समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको सभापति  समिक्षा बाँस्कोटा (रास्वपा) र नेपाली काँग्रेसका  सांसद रेखा यादवले मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रमुख वक्ताका रूपमा समाजका संस्थापक सभापति कृष्ण पहाडीले सम्बोधन गर्नु भएको कार्यक्रममा समाजद्वारा तयार गरिएको आदर्श नागरिक समाजको परिकल्पना ः शान्ति समाजले अवलम्बन गरेको बाटो विषयक शान्ति समाजद्वारा तयार गरिएको चार पृष्ठको अवधारणा पत्र कोषाध्यक्ष  चन्द्रमणि बन्जाराले प्रस्तुत गर्नु भएको थियो । सो अवधारणा पत्र माथि आलोचनात्मक टिप्पणीका लागी वरिष्ठ पत्रकार कृष्ण मुरारी भण्डारी लाई आमन्त्रण गरिएको थियो । यसै गरी समाजका संस्थापक सदस्य कृष्ण कँडेल,निवर्तमान सभापति  रामकृष्ण बराल, सल्लाहकार राम प्रसाद जोशी, काठमाण्डौ शाखा सभापति विकास थापा, ललितपुर सभापति बाबुराम न्यौपानेले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा समाजको स्थापना दिवसका अवसरमा काठमाण्डौमा आयोजित विभिन्न कार्यक्रमको संयोजन गर्ने सदस्यहरु पठन संस्कृति प्रवद्र्धन अभियानको  संयोजक ईश्वर पुडासैनी,खाद्यान्न दान कार्यक्रम संयोजक सार्जन चापागाईँ, पुस्तक दान कार्यक्रम संयोजक रबिना पौडेल,रक्तदान कार्यक्रम संयोजक नवराज चापागाईँले संक्षिप्त अनुभव प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले गर्नु भएको थियो । यसै गरी जेठ १९ गते शान्ति समाजका अछाम कैलाली मुगु सुर्खेत सल्यान बाँके दाङ गुल्मी कपिलवस्तु रुपन्देही पाल्पा कास्की म्याग्दी गोरखा नवलपुर चितवन महोत्तरी सङ्खुवासभा तेह्रथुम सुनसरी इलामले र जेठ २३ गते नुवाकोट शाखाले र जेठ २४ गते मोरङ शाखाले नागरिक संवाद कार्यक्रम आयोजना गरेका थिए ।
ङ) शैक्षिक सामग्री दान ः जेठ २० गते ललितपुर शाखाको संयोजनमा ज्वालादेवी आधारभूत विद्यालय देवीचौरका ३६ जना विद्यार्थीलाई रु.१८ हजारको शैक्षिक सामग्री प्रदान गरिएको थियो । साथै काठमाडौँ जोरपाटी स्थित सुनौलो पाइलामा आश्रय लिइरहेका नै जना विपन्न विद्यार्थीहरुलाई जेठ २२ गते रु.५ हजार चार सयको शैक्षिक सामग्री प्रदान गरिएको थियो । 
दाङ शाखाले सामुदायिक बिद्यालय बालकल्याण प्रा.बि. डाँडापातु तुलसीपुर ७ का पचास जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको थियो । यसै गरी २०७० सालको बिनासकारी बाढी बाट बिस्थापित वस्तिका वालवालिकाको पठन पाठन का लागि सुर्खेतमा संचालित ने. रा प्रा. बि. बराहताल २ सिस्नेरीमा अध्ययनरत ३३ जना वालवालिका लाई सुर्खेत शाखाद्वारा रु.१६२०० मूल्यको शैक्षिक तथा खेलकुद सामग्रि प्रदान गरिएको थियो भने सल्यान शाखाद्वारा शिवजन मा.वि. शीतलपाटी सल्यानको छात्रावासमा रहेका दृष्टिविहीन छात्र छात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । 

च) अन्नदानः जेठ २१ गते काठमाडौँ शाखाको संयोजनमा नेपाल नेत्रहीन सङ्घ महिला छात्रावास तथा तालिम केन्द्र, डाँछीमा दृष्टिविहीन दिदीबहिनीहरूलाई रु.२० हजारको खाद्यान्न प्रदान गरिएको थियो  । 
सुर्खेत शाखाद्वारा जेठ १७ गते स्थानीय आश्रममा एक छाक भोजनको व्यवस्था गरिएको थियो ।दाङ शाखाले जेठ १७ गते चार जना दृष्टिविहीन सहितको एक गन्धर्व परिवारलाई खाद्यान्न सहयोग गरेको थियो । बाग्लुङ शाखाले जेठ १९ गते बाढी पहिरो पिडित परिवारलाई खाद्यान्न सहयोग गरेको थियो ।  
छ) वातावरण दिवसमा जलवायु न्याय संवाद र वृक्षरोपणः  ५४ औं विश्व वातावरण दिवस (जुन ५) तथा शान्ति समाज स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको सातौ दिन काठमाडाँै शाखाद्वारा कागेश्वरी मनहरामा ‘जलबायु न्यायमा स्थानीय तहको भूमिका’ विषयक नागरिक संवाद सम्पन्न भएको थियो । यसै गरी रुपन्देही शाखाले बुटवलमा, चितवन शाखाले भरतपुरमा, सल्यान शाखाले त्रिवेणी गाउँ पालिका लुहाममा वृक्षरोपण र दाङ शाखाले तुलसीपुर १२ स्थित  वृद्धाश्रमा रहेका बोट बिरुवा गोडमेल तथा सरसफाइ गरेको थियो । विश्व वातावरण दिवसका अवसरमा सुर्खेत शाखाद्वारा “जलवायु परिवर्तन र हाम्रो जिम्मेवारी” विषयक वक्तृत्व कार्यक्रम सम्पन्न भएको थियो । 
ज) शान्ति समाज स्थापनाको ३० औँ वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सल्यान शाखाले जेठ १६ गते कुमाख लेकमा सचेतनामूलक कार्यक्रम, १७ गते स्थानीय अस्पतालका बिरामीहरुलाई फलफूल वितरण र जेठ २० गते सरसफाई कार्यक्रम गरेको थियो । 
झ) समाजको स्थापना दिवसको सेरोफेरोमा  दाङ शाखाले लागू औषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम अन्तर्गत दाङका पाँच वटा  विद्यालयमा अन्तक्रिया कार्यक्रम गरेको थियो । जसमा लगभग ५०० जना विद्यार्थीको सहभागिता थियो । यसै गरी स्थानीय अस्पतालका ६५ जना बिरामीहरूलाई   फलफुल बितरण गरेको थियो ।  
ञ)समाजको स्थापना दिवसको सेरोफेरोमा पाल्पा शाखाले जेठ १८ गते त्रिभुवन बहुमुखी क्याम्पस स्नातक तहका विद्यार्थीहरू माझ पठन संस्कृति प्रवद्र्धन केन्द्रित अन्तरक्रिया सम्पन्न गरेको थियो । यसै गरी झापा शाखाले धुलाबारी मा.बि.मा पठन संस्कृति प्रवद्र्धन केन्द्रित अन्तरसम्वाद कार्यक्रम गरेको थियो ।
ट) समाजको स्थापना दिवसको सेरोफेरोमा तेह्रथुम शाखा ले स्थानीय बृद्ध चौतारिमा फलफूल तथा जुस बितरण गरेको थियो भने सुर्खेत शाखाले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा फलफुल वितरण  गरेको थियो ।


 

आदर्श नागरिक समाजको परिकल्पना : शान्ति समाजले अवलम्बन गरेको बाटो

6/3/2026

आदर्श नागरिक समाजको परिकल्पना : शान्ति समाजले अवलम्बन गरेको बाटो
(मानव अधिकार तथा शान्ति समाजको ३० औँ स्थापना दिवसका अवसरमा २०८३ जेठ १९ गते समाजद्वारा आयोजित नागरिक संवाद कार्यक्रममा प्रस्तुत अवधारणा पत्र )
१.सबैका लागि सबै मानव अधिकार, जीवनपद्धतिको आधार : मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, वातावरण र सामाजिक न्यायका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते संस्थापक सभापति कृष्ण पहाडीको नेतृत्वमा स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । सबैका लागि सबै मानव अधिकार भन्ने उद्घोष सहित मानव अधिकार संरक्षण र मानव गरिमाको सम्मान नै जीवनपद्धतिको आधार बनाउन व्यापक अभियान सञ्चालन गर्ने उद्देश्यले शान्ति समाजको स्थापना भएको थियो जुन समकालीन परिवेशमा पृथक् थियो । मानवताको उच्चतम अभिव्यक्तिलाई जीवनको हरेक क्षेत्रमा प्रतिबिम्बित गर्ने पवित्र भावले आदर्श नागरिक समाजको परिकल्पना सहित स्थापित  मानव अधिकार तथा शान्ति समाज जगत्मुखी,जीवनमुखी,सेवामुखी अभियानमा समर्पित छ । हाल ३३ जिल्लामा समाजका जिल्ला शाखाहरू स्वयंसेवी तवरले क्रियाशील छन् र आजीवन सदस्य सङ्ख्या २३४५ रहेको छ ।
२. मानव अधिकार–सत्यको अभ्यास : विगत तीन दशकमा शान्ति समाजले मानव अधिकारका लागि दर्जनौँ अभियान सञ्चालन गर्नुका साथै हजारौँ कार्यक्रमहरू आयोजना गरी सकेको छ ।
क. उल्लङ्घन,ज्यादती र घात विरुद्ध अभियान :  शान्ति समाजले राज्यद्वारा हुने मानव अधिकार उल्लङ्घन, सशस्त्र विपक्षी समूहद्वारा हुने मानव अधिकार ज्यादती र समग्रमा सामाजिक घटकहरूद्वारा हुने मानव गरिमा माथि घातको सिलसिलाविरुद्ध अभियान सञ्चालन गर्दै आइरहेको छ । तत्कालीन परिवेशमा कैयन मानव अधिकार संस्थाहरूको कार्यक्षेत्र सामान्यतया राज्यद्वारा हुने मानव अधिकार उल्लङ्घन विरुद्ध मात्र केन्द्रित हुने गर्दथ्यो । 
ख. उत्सवका रूपमा अन्तर्राष्ट्रिय दिवस : सबैका लागि सबै मानव अधिकार भन्ने मूलमन्त्र सहित मानव अधिकार संस्कृति निर्माणमा केन्द्रित रही शान्ति समाजले हरेक वर्ष संयुक्त राष्ट्रसङ्घ द्वारा घोषित  बिस भन्दा बढी अन्तर्राष्ट्रिय दिवसहरू उत्सवका रूपमा मनाउँदै आएको छ । ती दिवसहरूमा आयोजना गरिने कार्यक्रममा सकेसम्म अवधारणा पत्र तयार गरी सो दिवसको पृष्ठभूमि र उद्देश्य बारे जानकारीका साथै अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय सन्दर्भको चर्चा गरिन्छ र जिल्ला जिल्लामा आयोजना हुने कार्यक्रममा   स्थानीय सन्दर्भले प्रवेश पाउँछ । 
२.१. वर्तमानमा समेत चिन्ता, दण्डहीनताको सिलसिला : विगत ३० वर्षको अवधिमा मानव अधिकारको क्षेत्रमा  उल्लेख्य उपलब्धि हासिल भएको छ तर मानव अधिकार संस्कृति निर्माणमा कतिपय प्रवृत्ति अहिले पनि बाधक छन् । दण्डहीनताको कहालीलाग्दो सिलसिला त्यसको एउटा उदाहरण हो जुन शान्ति समाज स्थापना हुँदा पनि विद्यमान थियो र अहिले पनि छ । 
क) टुङ्गोमा पुग्न सकेको छैन सङ्क्रमणकालीन न्याय :  दण्डहीनतालाई मलजल गरेकै कारण शान्ति प्रक्रिया सुरु भएको दुई दशक बित्न लाग्दा पनि सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न सकेको छैन ÷पुर्याइएको छैन । शान्ति समाजले सदैव पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर्न आहान गर्दै  अभियान सञ्चालन गरिरहेको छ 
ख) भाद्र २४ घटनाको उच्चस्तरीय छानबिन समिति गठनमा विलम्ब :  २०८२ फागुन २१ गते आम निर्वाचन सम्पन्न भए पश्चात् झन्डै दुई तिहाइको बलमा गठन भएको नवनिर्वाचित सरकारले २०८२ चैत्र १४ गते ( शपथ ग्रहणको भोलि पल्ट) शासकीय सुधारका एक सय  कार्यसूची सार्वजनिक गरेको थियो । त्यसको ७ नम्बर बुँदामा “संवत् २०८२ भाद्र २४ गते घटेको घटनाको सत्य तथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने” भन्ने उल्लेख थियो । तर दुई महिना बितिसक्दा पनि सरकारको प्रतिबद्धता अनुरूप छानबिन समिति गठन भएको छैन । 
३.शान्तिका लागि साधना : नेपालमा सशस्त्र द्वन्द्व सुरु भएको साढे तीन महिना पछि शान्तिको कुनै विकल्प हुँदैन, हिंसाको कुनै भविष्य हुँदैन भन्ने मान्यता सहित मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । शान्तिमा सबैको जय हुन्छ, युद्धमा सबैको क्षय हुन्छ भन्ने उद्घोष सहित शान्ति हाम्रो अधिकार भन्दै शान्ति समाज सदैव दिगो शान्तिका खातिर अभियानरत छ । शान्तिका लागि सुशासन अनिवार्य भएकोले पछिल्लो एक दशक यता शान्ति समाजले सुशासन केन्द्रित अभियानमा जोड दिँदै आएको छ । 
क) शान्ति प्रक्रियामा योगदान : २०५३ सालमा शान्ति प्रक्रिया अगाडि बढाउन विशेष पहल गर्ने समेत उद्देश्य अनुरूप स्थापित शान्ति समाजले दशक लामो सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण हेतु शान्ति प्रक्रियामा सक्दो योगदान गरेको थियो । 
ख) आणविक अस्त्रको विश्वव्यापी उन्मुलनका लागि बगेको पसिना : विश्व शान्तिका लागि शान्ति समाजले स्थापना कालदेखि नै आणविक अस्त्रको विश्वव्यापी उन्मुलनमा केन्द्रित रही अभियान सञ्चालन गरिरहेको छ ।  
ग) युद्ध निषेधः शान्ति विशेष अभियान : शान्ति समाज मूलतः राष्ट्रिय संस्था हो तर विश्व शान्तिका लागि अन्तर्राष्ट्रिय सन्दर्भमा समेत अभियान सञ्चालन गर्दै आइरहेको छ ।  जगत् भरी जीवनको अधिकार सबैभन्दा महत्वपूर्ण भएको हुँदा शान्ति समाजले युद्ध निषेध शान्ति विशेष अभियान प्रक्षेपण गरेको थियो । युद्ध भयो भने हजारौँको मृत्यु हुन्छ, लाखौँ घाइते हुन्छन् । त्यस माथि पनि आणविक अस्त्रको प्रयोग भयो भने लाखौँ,करोडौँको मृत्यु हुन सक्छ । तसर्थ विश्वभरिका लाखौँ,
करोडौँ मान्छेको जीवन रक्षाको लागि युद्ध निषेधः शान्ति विशेष अभियान केन्द्रित छ । यस क्रममा काठमाडौँ स्थित दर्जन बढी राजदूतावास÷कूटनीतिक नियोग अगाडि शान्ति समाजले प्रदर्शन गरी सकेको छ । 
३.१.युद्धको विस्तार–विश्व शान्तिका लागि खतरा :
क) युद्धको बाछिटा ःपछिल्लो चरणमा युद्धको निरन्तर विस्तार विश्व शान्ति र मानव सभ्यताका लागि ठुलो खतरा भएको छ । युद्धको बाछिटाले दक्षिण एसिया समेत भिज्न थालेको छ । नेपालका छिमेकी राष्ट्रहरू युद्धमा होमिदा त्यसको दुष्प्रभाव नेपालमा  देखिन थालेको छ । 
ख) आणविक प्रलयको खतरा : विगत चार वर्षमा युद्धको विभीषिकाका कारण आणविक अस्त्र प्रयोग हुने त होइन ? भन्ने त्राशदि बाट सभ्यता गुज्रिएको छ भने युद्ध विस्तार हुँदै जाँदा आणविक प्रलयको खतराले मानवता त्राहिमाम् छ । 
४.लोकतन्त्र–स्वतन्त्रताको रक्षा कवच : आधारभूत स्वतन्त्रता लोकतन्त्रको प्राण हो । तसर्थ स्वतन्त्रताको संरक्षणका खातिर लोकतान्त्रिक शासन प्रणाली अनिवार्य भएको धारणा सहित शान्ति समाज सदैव नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता सहितको जीवन्त एवम् समुन्नत लोकतन्त्रको वकालत गर्दछ । लोकतान्त्रिक समाजको प्रतिनिधि संस्थाको रूपमा लोकतन्त्रको जरा गहिरो बनाउन र लोकतन्त्रका शाश्वत मूल्यको जगेर्नाका लागि शान्ति समाज सदैव क्रियाशील छ । 
क) लोकतान्त्रिक आन्दोलनमा योगदान : २०५९ साल देखि समुन्नत लोकतन्त्रको माग सहित शान्ति समाजले अभियान तीव्र बनाएको थियो । २०६२–६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा शान्ति समाजले गरेको योगदान विदितै छ । 
ख) लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ महत्वपूर्ण योगदान : नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अहिंसात्मक तवरमा शान्ति समाजले महत्वपूर्ण योगदान गरेको थियो । 
४.१.लोकतन्त्रको भविष्य –निरन्तर नागरिक निगरानी आवश्यक : लोकतन्त्रको स्थायित्वका लागि एकातिर सुशासन अनिवार्य छ भने अर्कोतिर लोकतान्त्रिक संस्कृति बलियो बनाउनु त्यति नै आवश्यक  छ । लोकतन्त्रमा व्यक्तिको होइन विधिको सर्वोच्चता हुन्छ । लोकतन्त्र ग्लानि होइन गौरवको विषय हो । तथापि लोकतन्त्र विरुद्ध अहिले पनि केही तह र तप्का सक्रिय देखिन्छ । तसर्थ लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ निरन्तर सूक्ष्म निगरानी र नागरिक खबरदारी आवश्यक छ । 
क) सङ्कीर्णता र जडसुत्रवाद–लोकतन्त्रका लागि सधैँ चुनौती : नेपालमा लोकतन्त्र मासेर संकिर्णतावादीहरुको वर्चस्वको वंशवादी शासन बौरिने सम्भावना सामान्यतया देखिँदैन । यसै गरी जडसुत्रवादीहरुको वर्चस्वको एकाधिकारवादी शासन व्यवस्थाको सम्भावना पनि देखिँदैन । लोकतान्त्रिक गणतन्त्रको अवसान नभएसम्म यी दुवै प्रवृत्तिले आफ्नो भविष्य नदेख्ने हुँदा लोकतन्त्र विरुद्ध मोर्चावन्दीको प्रयास गरी रहन्छन् । सुशासनको प्रत्याभूति भए यस्तो प्रवृत्ति स्वतः निस्तेज भएर जान्छ । 
ख) निर्देशित लोकतन्त्र–लोकतन्त्र विरोधीहरूको सम्भावित गन्तव्य : लोकतन्त्रलाई दिगो बनाउन सुशासन अनिवार्य आवश्यकता हो ।  सुशासनका लागि विधिको शासन अनिवार्य छ । यदाकदा लोकप्रियताको उन्मादमा जनमतको दुरुपयोग गरेर विधि र मूल्यलाई तिलाञ्जली दिँदै लोकतन्त्रलाई निर्देशित लोकतन्त्रमा अनुवाद गर्ने प्रयास त भई रहेको छैन ? स्वतन्त्रताका संवाहकहरू सधैँ जागृत हुनुका साथै निरन्तर नागरिक निगरानी आवश्यक छ ।  
ग) सामरिक स्वार्थको छायामा लोकतन्त्र : विश्वमा द्वन्द्वको दबदबा र युद्ध विस्तार हुँदै जाँदा शक्ति राष्ट्रहरूको प्राथमिकतामा लोकतान्त्रिक मूल्यको सट्टा सामरिक स्वार्थ प्रबल हुन गयो भने  लोकतन्त्रको समाप्ति चाहने तप्का हौसिन सक्छन् । तसर्थ स्वतन्त्रताका संवाहकहरू सधैँ चनाखो हुनु आवश्यक छ । 
५. अहिंसा–सत्यको मार्ग : भयरहित सामाजिक परिवेशको सिर्जना हेतु हिंसालाई बढावा दिने कुनै पनि प्रवृत्ति, प्रचलन वा परम्परालाई निरुत्साहित गर्ने उद्देश्यले शान्ति समाजको स्थापना भएको थियो । अहिंसा सत्यको अर्थात् सात्विक मार्ग पनि हो तसर्थ संस्थाको आन्तरिक जीवन धारामा समेत कुनै पनि अवस्थामा कुनै पनि हैसियतमा हिंसालाई वकालत नगर्ने प्रतिबद्धता शान्ति समाजले सदस्यहरूका लागि आचारसंहितामा तय गरेको छ भने  हिंसाको मुहान मानिने घृणात्मक अभिव्यक्ति र त्यसलाई मलजल गर्ने प्रवृत्तिको विरुद्धमा शान्ति समाजको चट्टानी अडान कायम छ । समाज रूपान्तरणका लागि चालक शक्ति सदैव अहिंसा हुनुपर्ने मान्यता सहित शान्ति समाजको अविचलित यात्रा जारी छ । 
५.१. अहिंसाको मूल्यलाई संविधानको प्रस्तावनामा समावेश गर्न आग्रह :हिंसात्मक एवम् ध्वंसात्मक मार्गबाट स्थापित हुन विभिन्न खाले अभ्यास शान्ति संस्कृति निर्माणमा बाधा हो । तसर्थ शान्ति समाजले लामो समय देखि अहिंसाको मूल्यलाई संविधानको प्रस्तावनामा समावेश गर्न आग्रह गर्दै आएको छ । 
६. सद्भाव–भातृत्वलाई बढावा र शान्तिको आधारशिला : सद्भाव नै शान्तिको आधारशिला हो । जहाँ सद्भाव सर्वोच्च हुन्छ र विविधतालाई उत्सवका रूपमा मनाइन्छ त्यहाँ दिगो शान्ति हुन्छ । सद्भावले तोड्ने होइन जोड्ने काम गर्दछ । सद्भाव शान्तिको  जग हो । 
क) दिगो शान्तिका लागि समुदायबीच स्थिर र सुमधुर सम्बन्ध  आवश्यक : शान्ति समाजले समुदायबीच सदैव सुमधुर सम्बन्धमा जोड दिँदै सद्भाव प्रवद्र्धनका लागि निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । यो अभियानलाई अझ प्रभावकारी बनाउन व्यापक साझेदारी/ सहकार्य आवश्यक छ ।
ख) सद्भाव बिथोल्ने पात्र र प्रवृत्तिलाई दण्डित गर्नु आवश्यक : राजनीतिक लगायत विभिन्न स्वार्थका खातिर सद्भाव भड्काउने गरी भई रहेको षडयन्त्र अहिले सुषुप्त अवस्थामा रहेको देखिन्छ । यसका पछाडि को छ ? जरो समेत पहिचान गरी प्रमुख पात्र र प्रवृत्तिलाई दण्डित गर्नु आवश्यक छ । 
७. सहिष्णुता–स्वीकारोक्ति र ग्रहणशीलता : समृद्ध विविधताबीचको सुमधुरता नै सहिष्णुता हो । सहिष्णुताको सिद्धान्तले बहुलवादलाई प्रवद्र्धन गर्छ र  सबै अधिकारहरूको उपभोगलाई पुनःपुष्टी गर्दछ । सहिष्णुताका आदर्शको अवलम्बन र सहिष्णुताका सिद्धान्तहरूको प्रवद्र्धनका लागि शान्ति समाज अभियानरत छ । 
क) सहिष्णुता कमजोरी होइन,तागत हो : सहिष्णुता कमजोरी होइन,तागत हो,शालीनता हो । सहिष्णुता भनेको अन्यायलाई स्वीकार गर्नु होइन अपितु न्यायको मार्गलाई विस्तार गर्नु हो । सहिष्णुता भनेको दण्डहीनतालाई बढावा होइन, विधिको शासनप्रतिको विश्वास हो । 
८.सामाजिक न्याय–दलित अधिकार मानव अधिकार : छुवाछुत, भेदभाव जस्ता मानव गरिमा विरुद्ध घात पु¥याउने विद्यमान प्रवृत्तिहरू अन्त्य गर्न कार्य गर्ने उद्देश्यले शान्ति समाजको स्थापना भएको थियो । सामाजिक न्यायका लागि अभियानरत  शान्ति समाजले दलित अधिकार मानव अधिकार भन्ने मूल नारा सहित तीन दशक अगाडि सञ्चालन गरेको अभियान अहिले पनि जारी छ ।  
क) छुवाछुत, भेदभावःमानवता विरुद्ध अपराध : छुवाछुत, भेदभाव मानवता विरुद्ध अपराध हो भन्ने शान्ति समाजको दृढ धारणा छ । यस्तो अपराध निर्मूल नभए सम्म दिगो शान्ति हुँदैन । 
ख) शान्तिका लागि सामाजिक न्याय : विगत तीन दशकमा देश बहुदलीय प्रजातन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ तर पनि छुवाछुत, भेदभाव जस्तो मानवता विरुद्ध अपराधको अन्त्य भएको छैन । पटक पटक राजनीतिक सत्ता परिवर्तन भए पनि सामाजिक सत्तामा जरो गाडेर बसेको सङ्कीर्णतावाद र दण्डहीनता नै यसको मूल कारण हो । समाज रूपान्तरणका लागि दृढ राजनीतिक इच्छा शक्तिको अभावका कारण आज पनि सामाजिक न्यायको प्रत्याभूति हुन सकेको छैन । राज्यका महत्वपूर्ण निकाय,नीति निर्णायक तहमा आज पनि दलित समुदायको प्रतिनिधित्व कतै शून्य, कतै न्यून छ भने सदिऔँ देखि विभेद र अत्याचारको सिकार हुँदै आएकाहरूको  आर्थिक सामाजिक उत्थानका लागि ठोस मार्ग चित्र कोरिएकै छैन । खण्डित एवम् विभाजित मानसिकताले लोकतन्त्रलाई मात्र होइन देशलाई नै कमजोर बनाउँछ । 
ग) सीमान्तकृत,विपन्नहरूको पक्षमा मुखरित हुने प्रयत्न : शान्ति समाज स्थापनार्थ तर्जुमा भएको विधानको एक उद्देश्यमध्ये समाजका संवेदनशील पक्षहरूको अधिकार संरक्षण तथा उत्थान प्रयासलाई समर्थन गर्ने रहेको हुँदा शान्ति समाजले जहिले पनि सीमान्तकृत, विपन्नहरूको अधिकार र उत्थानका लागि मुखरित हुने प्रयत्न गरेको छ ।    
९. जलवायु न्याय :जगत्मुखी अभियानको महत्वपूर्ण अध्याय :
शान्ति समाज स्थापनाको एउटा उद्देश्य सन्तुलित वातावरण र स्वच्छ पर्यावरणीय स्थितिका लागि कार्य गर्ने रहेको थियो । जगत्मुखी अभियानका रूपमा स्थापनाको एक दशक पछि शान्ति समाजले जलवायु परिवर्तन र विश्वव्यापी उष्णता केन्द्रित व्यापक अभियान प्रारम्भ गरेको थियो जुन त्यस बेला नेपालमा नौलो मानिनुका साथै चर्चित अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले समेत आफ्नो कार्य क्षेत्र ठान्दैनथे । जलवायु न्याय अभियानअन्तर्गत शान्ति समाज हिमालय÷चुरे बचाऊ, नदी जोगाऊ भन्ने आहान सहित क्रियाशील छ । शान्ति समाजले त्यो बेला उठाएको अन्तर्राष्ट्रिय स्तरमै जलवायु क्षतिपूर्तिका लागि उपयुक्त व्यवस्था हुनुपर्ने माग अहिले अन्तर्राष्ट्रिय अदालतले समेत सम्बोधन गरेको अवस्था छ । 
९.१. विनाशमुखी होइन, संरक्षणमुखी विकासको आवश्यकता :
क) तीव्र चुरे विनाश–मधेस मरुभुमीकरणको खतरा: नेपाल सन्दर्भमा चुरेको अत्यधिक दोहन र विनाशले मधेस मरुभुमिकरणको खतरा शान्ति समाजले बारम्बार औँल्याउँदै आएको छ ।
ख) हिमालको अस्तित्व सङ्कटमा ः जलवायु सङ्कटका कारण नेपालका हिमाल नाङ्गिन थालेका छन् । नदीको मुहानमा सङ्कट उत्पन्न भएको छ । तसर्थ हिमालय/चुरे बचाऊँ, नदी जोगाउ अभियानलाई राष्ट्रिय अभियान घोषणा गरी नयाँ अध्यायको थालनी गर्नु आवश्यक छ । 
ग) जलवायु न्याय, जीवनचक्र परिस्थिति सन्तुलनका लागि संविधान संशोधन ः जीवनचक्र परिस्थिति सन्तुलन र सोही अनुरूप राज्य संयन्त्रहरू परिमार्जित गर्नका लागि लामो समय देखि शान्ति समाजको अभियान जारी छ । तसर्थ संविधानको प्रस्तावनामा जलवायु न्याय, जीवनचक्र परिस्थिति सन्तुलनको विषय समावेश गर्न ढिलो गर्नु हुँदैन ।
१०.तीन दशकको अध्याय–स्वाभिमानको पर्याय :
शान्ति समाजको तीन दशकको यात्रामा स्वाभिमान सदैव केन्द्रबिन्दुमा रह्यो । स्वाभिमानका लागि संस्थाले स्वावलम्बनको नीति अवलम्बन ग¥यो ।  राष्ट्रिय परिषद् बैठक शान्ति समाजको सर्वोच्च नीति निर्णायक अङ्ग हो जसले अभियानका क्षेत्र विस्तार देखि समय आन्दोलन,शान्ति समाजका हरेक संरचनामा ४० प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व, दलित समुदायको उपस्थिति लगायत समावेशिता सुनिश्चित गर्दै सय भन्दा बढी नीति प्रतिपादन गरेको छ । शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दूतावास, दात्री संस्था, फाउन्डेसन, अन्तर सरकारी संस्था धार्मिक सङ्घसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट आर्थिक सहयोग ग्रहण गर्दैन ।
११. कमी कमजोरी सुधार्नु आवश्यक : कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, प्रेस र नागरिक समाज समेतको असफलताको गर्भबाट २०८२ भदौमा जेनजी आन्दोलनको अभ्युदय भएको थियो । नागरिक समाजको एक संस्थाका रूपमा शान्ति समाज आफ्नो समेत असफलतालाई स्वीकार गर्दछ । यद्यपि सुशासन प्रत्याभूतिमा केन्द्रित रही शान्ति समाजले आफ्नो सामथ्र्यले भ्याए सम्म अभियान नगरेको होइन । सो अभियान अन्तर्गत विगत सात वर्षमा शान्ति समाजले देश भरि सयौँ कार्यक्रम आयोजना गर्नुका साथै दर्जनौँ पटक गिरफ्तारी समेत भएको थियो । 
वर्तमान अवस्थामा मानव अधिकार, नागरिक समाज संस्थाहरूले विगतमा आफू कहाँ चुक्यौँ भन्ने बारे पुनरावलोकन गरी कमी कमजोरी सुधारी अघि बढ्नु आवश्यक भएको धारणा शान्ति समाजको छ ।  
क) आलोचनालाई स्वागत गर्दै नागरिक समीक्षाको अभ्यास : आलोचनालाई स्वागत गर्दै शान्ति समाजले आफ्ना कमी कमजोरी बारे नागरिक समीक्षाको अभ्यास नगरेको होइन । कमी कमजोरी औँल्याइदिन र आलोचना मार्फत बाटो देखाइ दिन आग्रह गर्दै २०८१ जेठ १९ गते शान्ति समाजले आफ्नो २८ औँ स्थापना दिवस मनाएको थियो । 
त्यसको लगत्तै सम्पन्न भएका शान्ति समाजका जिल्ला शाखाहरूको साधारण सभाका दौरान सहभागीहरू माझ फारम वितरण गरी लिखित रूपमा शान्ति समाजको कमी कमजोरी औँल्याउन आग्रह गरिएको थियो । 
ख) वर्तमानको विम्ब भविष्यको सङ्केत : विगत तीन दशकमा शान्ति समाजले सय भन्दा बढी अनुसन्धान तथा अवधारणा पत्रहरू सार्वजनिक गरिसकेको छ । त्यसमध्ये कतिपय अवधारण पत्र समकालीन परिवेशको चित्रण र विश्लेषणका लागि चर्चित रहे । 
१२. आदर्श नागरिक समाजको परिकल्पना  र शान्ति समाजले अवलम्बन गरेको बाटो :
क) आत्मिक शान्ति ः एक आदर्श नागरिक समाज संस्थाको परिकल्पना सहित ३० वर्ष अगाडि शान्ति समाजको स्थापना भएको थियो । मानव अधिकार शाश्वत सत्य हो । तसर्थ मानव अधिकारका लागि अभियान सत्यको अभ्यास हो । शान्ति नागरिकको नैसर्गिक अधिकार हो तसर्थ शान्तिका लागि साधना भनेको एक किसिमको तपस्या हो । सद्भाव त्यही तपस्याको जग हो । सहिष्णुता त्यही तपस्याको सिढीं हो । अहिंसात्मक धारालाई आत्मसात् गर्नु भनेको सात्विक मार्गमा विचरण हो । स्वतन्त्रता अर्थात् आधारभूत स्वतन्त्रता सर्वाधिक सुरक्षित लोकतन्त्रमा हुन्छ तसर्थ स्वतन्त्रताको आराधन र सदैव नागरिक सर्वोच्चताको वकालत मानव गरिमाको उच्चतम सम्मान हो । न्याय शान्तिको जग हो । त्यसमा पनि सामाजिक न्यायको प्रत्याभूति दिगो शान्तिका लागि अनिवार्य आवश्यकता हो । जगत् नरहे जीवन रहँदैन तसर्थ जगत् रक्षाका लागि जलवायु न्याय सुनिश्चित गर्नु पहिलो र अन्तिम सत्य हो । 
यस प्रकार मानव अधिकार देखि जलवायु  न्याय सम्मको पवित्र अभियानमा शान्ति समाज डुबुल्की मार्दै आएको छ । शान्ति समाजको स्वयंसेवी आन्दोलनमा निस्वार्थ भावले ऊर्जा र समय समर्पण गर्दै दृढ संकल्प सहित अहोरात्र अभियानरत अभियन्ताहरूले अनुभूत गर्ने भनेको आत्मिक शान्ति मात्र हो । त्यस बाहेक हासिल गर्ने कुनै भौतिक लाभ छैन । 
ख) शत्रुताविहीन आचरणको वकालत : शान्ति समाजको अभियान यही चेत र मूल्यद्वारा निर्देशित छ । शत्रुताविहीन आचरणको वकालत गर्ने शान्ति समाज कसैलाई पनि आफ्नो शत्रु ठान्दैन ।
ग) तीन दशकको सङ्घर्षपूर्ण यात्रा ः साथ र समर्थनका लागि हार्दिक आभार :
अनेकौँ कठिनाइ सामना गर्दै शान्ति समाजले तीन दशकको सङ्घर्षपूर्ण यात्रा पुरा गरेको छ । जस्तो सुकै कठिन अवस्थामा पनि तन मन र धनले समर्थन र सहयोग गर्ने सबै प्रति हामी नतमस्तक छौँ । यो तीन दशकको यात्रामा साथ, सद्भाव र समर्थनका लागि समस्त नागरिक, सञ्चार जगत्, राजनीतिक समाज, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदायलाई शान्ति समाज हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दछ । यसै गरी तीन दशकको यो यात्रामा कुनै न कुनै विन्दुमा सहकार्य गर्ने नेपालका विभिन्न निकायहरू, ऐक्यबद्धता सहित साथ र समर्थन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरू र विश्वभरि छरिएका सबै शुभेच्छुकहरूप्रति हार्दिक आभार एवम् धन्यवाद ।

शान्ति समाज स्थापनाको ३० औ वार्षिकोत्सवका अवसरमा नागरिक संवाद

6/3/2026

1.मानव अधिकार तथा शान्ति समाज स्थापनाको ३० औ वार्षिकोत्सवका अवसरमा जेठ १९ गते आदर्श नागरिक समाजको परिकल्पना : शान्ति समाजले अवलम्बन गरेको बाटो विषयक नागरिक संवाद कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ ।समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको सभापति समिक्षा बाँस्कोटा (रास्वपा) र नेपाली काँग्रेसका सांसद रेखा यादवले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रमुख वक्ताका रूपमा समाजका संस्थापक सभापति कृष्ण पहाडीले सम्बोधन गर्नु भएको कार्यक्रम मा समाज द्वारा तयार गरिएको आदर्श नागरिक समाजको परिकल्पना : शान्ति समाजले अवलम्बन गरेको बाटो विषयक शान्ति समाजद्वारा तयार गरिएको चार पृष्ठको अवधारणा पत्र कोषाध्यक्ष चन्द्रमणि बन्जाराले प्रस्तुत गर्नु भएको थियो ।
सो अवधारणा पत्र माथि आलोचनात्मक टिप्पणीका लागी वरिष्ठ पत्रकार कृष्ण मुरारी भण्डारी लाई आमन्त्रण गरिएको थियो।यसै गरी समाजका संस्थापक सदस्य कृष्ण कँडेल,निवर्तमान सभापति रामकृष्ण बराल, सल्लाहकार राम प्रसाद जोशी, काठमाण्डौ शाखा सभापति विकास थापा, ललितपुर सभापति बाबुराम न्यौपानेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
। समाजको स्थापना दिवसका अवसरमा काठमाण्डौमा सप्ताहव्यापी कार्यक्रम भई रहेको छ । कार्यक्रममा पठन संस्कृति प्रवर्द्धन अभियानको संयोजक ईश्वर पुडासैनी,खाद्यान्न दान कार्यक्रम संयोजक सार्जन चापागाईँ, पुस्तक दान कार्यक्रम संयोजक रबिना पौडेल,रक्तदान कार्यक्रम संयोजक नवराज चापागाईँले संक्षिप्त धारणा व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले गर्नु भएको थियो ।
2.जेठ १९ गते शान्ति समाजका २१ जिल्ला शाखाद्वारा नागरिक संवाद कार्यक्रम आयोजना ।
कार्यक्रम आयोजना गर्ने शाखाहरू यस प्रकार छन् : अछाम कैलाली मुगु सुर्खेत सल्यान बाँके दाङ गुल्मी कपिलवस्तु रुपन्देही पाल्पा कास्की म्याग्दी गोरखा नवलपुर चितवन महोत्तरी सङ्खुवासभा तेह्रथुम सुनसरी इलाम

सरकार :लोकतन्त्र विरोधीको लौरो नबन,गणतन्त्र दिवस प्रदर्शन

5/29/2026

संसदीय सर्वोच्चता जोगाउ भन्दै शान्ति समाजले मनायो गणतन्त्र दिवस 
1.१९ औँ गणतन्त्र दिवसका अवसरमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरी गणतन्त्र दिवस मनाएको छ ।
सरकार :लोकतन्त्र विरोधीको लौरो नबन, संसद् : संसदीय सर्वोच्चता जोगाउ, न्यायालय : पहिले दलको अहिले सरकारको छायाबाट मुक्त गराऊ भन्ने आह्वान सहित काठमाण्डौमा जेठ १५ बिहान ११ बजे माइतीघरमा प्रदर्शन भएको थियो । प्रदर्शनमा लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद, संसद्बाट बनेको सरकार संसद्प्रति नै अनुदार,निर्मल निवास प्रति उदार ? लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

2. गणतन्त्र जिन्दावाद भन्दै १९ औ गणतन्त्र दिवसका अवसरमा शान्ति समाजका जिल्ला शाखाहरुद्वारा जेठ १५ गते झापा तेर्हथुम महोत्तरी चितवन नुवाकोट कास्की बाग्लुङ रुपन्देही पाल्पा गुल्मी सल्यान सुर्खेत मुगु र बाके मा गरी १४ जिल्लामा प्रदर्शन । दाङ शाखाले दीप प्रज्वलन गरेको थियो ।

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links