9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ पठन संस्कृति प्रवर्द्धन अभियान प्रारम्भ

पठन संस्कृति प्रवर्द्धन अभियान प्रारम्भ

2026-05-11 16:33:14

पठन संस्कृति प्रवर्द्धन अभियान प्रारम्भ
1.मानव अधिकार तथा शान्ति समाजले शैक्षिक प्रतिष्ठान केन्द्रित पठन संस्कृति प्रवर्द्धन अभियान प्रारम्भ गरेको छ । यस अभियानका क्रममा पहिलो अन्तर संवाद कार्यक्रम २०८३ वैशाख २७ गते काठमाडौँ जोरपाटी स्थित इस्ट पोल कलेजमा सम्पन्न भएको थियो । अन्तर संवाद कार्यक्रममा समाजका सभापति रेनुका पौडेलले पठन संस्कृति प्रवर्द्धनका लागि शान्ति समाजद्वारा तयार गरिएको दश बुँदा सहित मन्तव्य व्यक्त गर्नुभएको थियो भने समाजका निवर्तमान सभापति एवम् सल्लाहकार रामकृष्ण बरालले शान्ति समाजको बारेमा संक्षिप्त प्रकाश पार्नुभएको थियो । कार्यक्रम संयोजन काठमाडौँ शाखाका पूर्व सभापति ईश्वर पुडासैनीले गर्नु भएको थियो । कार्यक्रममा इस्ट पोल कलेजमा कक्षा ११ मा अध्ययनरत १०५ जना विद्यार्थीको सहभागिता थियो । सबै सहभागीहरूलाई समाजका संस्थापक सभापति कृष्ण पहाडीद्वारा लिखित जलमा हलचल सूक्ष्मको नामक पुस्तक उपहार स्वरूप प्रदान गरिएको थियो । समाजका पूर्व सभापति गोविन्द खनाल सहितको सहयोगमा मानव तथा शान्ति समाजले सो पुस्तक प्रकाशन गरेको थियो ।
2.पठन संस्कृति अन्तर संवाद २ :
मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको पठन संस्कृति प्रवर्द्धन अभियान अन्तरगत दोस्रो अन्तर संवाद कार्यक्रम २०८३ वैशाख ३० गते काठमाडौँ जोरपाटी स्थित भेनस कलेजमा सम्पन्न भएको छ । अन्तर संवाद कार्यक्रममा समाजका सभापति रेनुका पौडेलले पठन संस्कृति प्रवर्द्धनका लागि शान्ति समाजद्वारा तयार गरिएको दश बुँदा सहित मन्तव्य व्यक्त गर्नुभएको थियो भने समाजका निवर्तमान सभापति एवम् सल्लाहकार रामकृष्ण बराल, पूर्व सभापति होमकान्त चौलागाई र काठमाडौँ शाखा सभापति विकास थापाले संक्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजन काठमाडौँ शाखाका पूर्व सभापति ईश्वर पुडासैनीले गर्नु भएको थियो । कार्यक्रममा भेनस कलेजमा कक्षा ११ मा अध्ययनरत १५० जना विद्यार्थीको सहभागिता थियो । सबै सहभागीहरूलाई समाजका संस्थापक सभापति कृष्ण पहाडीद्वारा लिखित विभिन्न साहित्यिक पुस्तक उपहार स्वरूप प्रदान गरिएको थियो ।
मानव अधिकार तथा शान्ति समाज

पठन संस्कृति प्रवर्द्धन अभियान

मानव अधिकार तथा शान्ति समाज द्वारा सञ्चालित “पठन संस्कृति प्रवर्द्धन अभियान” ज्ञान, चेतना र सिर्जनशीलताको अभिवृद्धि हेतु सहयोग गर्ने उद्देश्यले अघि बढाइएको अभियान हो। वर्तमान समयमा सूचना–प्रविधिको तीव्र विस्तारसँगै विद्यार्थीहरूमा पाठ्यपुस्तक बाहेक अतिरिक्त पुस्तक पढ्ने बानी कम हुँदै गएको, अधिक समय सामाजिक सञ्जाल र मोबाइलमा बिताउने प्रवृत्ति बढ्दै गए सँगै पुस्तक पढ्ने रुचिमा कमी आउँदै गएको तथा गहिरो अध्ययन, विश्लेषण,अनुसन्धान र चिन्तनमा ह्रास आउने त होइन भन्ने आशङ्का उब्जिन्छ। यस अवस्थामा युवा पुस्तामा थप अध्ययन, अनुसन्धान, पुस्तकप्रतिको रुचि र बौद्धिक संस्कारको बिस्तारमा जोड दिनु आवश्यक भएको छ।
पढ्ने विषय केवल परीक्षा उत्तीर्ण गर्ने कुरा मात्र होइन, यो व्यक्तित्व विकास, नैतिक चेतना, सामाजिक उत्तरदायित्व, लोकतान्त्रिक मूल्य, मानव अधिकारप्रतिको सम्मान र सकारात्मक सोच निर्माण गर्ने आधार पनि हो। नियमित पठनले विद्यार्थीमा भाषिक क्षमता, तार्किक विश्लेषण, निर्णय क्षमता, सिर्जना शक्ति तथा आत्मविश्वास अभिवृद्धि गर्न मद्दत गर्दछ।विद्यार्थीहरूलाई पुस्तकसँग जोड्ने, सिर्जनात्मक र अध्ययनशील वातावरण निर्माण गर्ने तथा पुस्तक समीक्षा, अन्तरसम्बाद र आलोचनात्मक चेत विस्तारका साथै साहित्य, कला र संस्कृतिको प्रवर्धनमा सक्रिय सहभागी गराउन सहयोग पुगोस् भनी यो अभियान सुरु गरिएको हो। समग्रमा पठन संस्कृति प्रवर्द्धन अभियान मार्फत जागरूक, सृजनशील र विवेकशील जनमत प्रतिबिम्बित गर्ने पुस्ताको क्षमता विस्तार गर्ने उद्देश्य रहेको छ।
१. नियमित अध्ययनको अभ्यास: पाठ्यसामग्रीका अतिरिक्त ज्ञान, विज्ञान, साहित्य, कला, संस्कृति बारे प्रकाश पार्ने पुस्तकहरू अध्ययन गर्ने ।
२. रुचि अनुसारका पुस्तक छनोट: इतिहास,भूगोल लगायत प्रेरणादायी व्यक्तित्वका जीवनीहरूको अध्ययन, अनुसन्धान, सोध खोजलाई प्रवर्धन गर्ने ।
३.सामाजिक सञ्जालको समय व्यवस्थापन: पुस्तक पढ्ने समय बढाउने, टेलिभिजन तथा सामाजिक सञ्जालमा बिताउने समय सीमित गर्ने र इन्टरनेटमा उपलब्ध पुस्तक, जर्नल तथा अध्ययन सामग्रीको उपयोग गर्ने। सामाजिक सञ्जाललाई समाज तोड्ने होइन, सकारात्मक सोच, ज्ञान आदान–प्रदान र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने र जोड्ने माध्यमका रूपमा प्रयोग गर्ने।
४. अध्ययन सामग्रीमा पहुँच बिस्तार: सम्बन्धित निकायले युवा पुस्ताका लागि विश्वका प्रख्यात विश्वविद्यालय, पुस्तकालय र प्रकाशन गृहहरू सम्म इन्टरनेट पहुँच उपलब्ध गराउने । आफ्नो नजिक रहेका पुस्तकालयमा नियमित जाने र नयाँ पुस्तक खोजी पढ्ने बानी बसाल्ने।
५. पुस्तक अध्ययन, साझेदारी र समीक्षा : पुस्तक पढ्ने, साथीहरूसँग पुस्तक आदान प्रदान गर्ने तथा सामूहिक समीक्षा मार्फत आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने क्षमताको विकास गर्ने। महत्त्वपूर्ण विचार, नयाँ शब्द वा सिकाइलाई डायरीमा टिपोट गर्ने बानी बसाल्ने। पढेको विषयबारे संक्षिप्त प्रतिक्रिया वा समीक्षा लेख्ने अभ्यासले विश्लेषण क्षमता, आलोचनात्मक चेत तथा लेखन सीप अभिवृद्धि गर्न मद्दत गर्दछ। अध्ययनसँगै क्रमशः पुस्तक लेखन क्षमताको समेत विस्तार गर्ने।
६. पुस्तक केन्द्रित छलफल: पढेको पुस्तकको सार, सन्देशबारे साथीहरूसँग छलफल गर्ने। अध्ययनलाई बोझ होइन, नयाँ संसार बुझ्ने रमाइलो माध्यमका रूपमा लिन प्रेरित गर्ने।
७. ई–बुक/अडियोबुकको समुचित प्रयोग : प्रविधिलाई सही रूपमा प्रयोग गर्दै डिजिटल माध्यमबाट समेत पठन संस्कृतिलाई विस्तार गर्ने।
८.आलोचनात्मक चेतको विस्तार :पठन संस्कृति प्रवर्धनका साथै सकारात्मक सोच,विश्वव्यापी मान्यताको स्वीकारोक्ति र आलोचनात्मक चेतको विस्तार क्षमतालाई अभिवृद्धि गर्ने।
९. ज्ञानको विस्तार र विज्ञानको खोज: अध्ययन औपचारिक मात्र नभएर ज्ञानको विस्तार र विज्ञानको खोज केन्द्रित हुनुपर्ने ।
१०. अध्ययनमैत्री वातावरण र अभिभावकीय दायित्व : शान्त परिवेश, उचित वायु तथा पर्याप्त प्रकाश भएको वातावरणमा नियमित समय तालिका बनाएर अध्ययनको वातावरण बनाउने । परिवारका सबै सदस्यहरूले अध्ययनलाई प्रोत्साहन गर्ने र पठन संस्कृतिको विकास र विस्तारमा योगदान गर्ने

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links