9851240117

hurpes@gmail.com

Home

About us

Others

Press Releases

शान्ति समाजको राष्ट्रिय परिषद् सुर्खेतमा हुने, आधा दर्जनको राजीनामा स्वीकृत

प्रेस विज्ञप्ति

शान्ति समाजको राष्ट्रिय परिषद् सुर्खेतमा हुने, आधा दर्जनको राजीनामा स्वीकृत 

मानव अधिकार तथा शान्ति समाजको २९ औँ राष्ट्रिय परिषद् बैठक २०८३ माघ ९ र १० गते समाजको सुर्खेत शाखाको आतिथ्यमा वीरेन्द्रनगर सुर्खेतमा हुने भएको छ । २९ औँ रा.प.बैठकको मूल नारा “जलवायु न्याय हाम्रो अधिकार, विधिको शासनः आधारभूत स्वतन्त्रता सहितको सुशासन” रहेको छ ।

राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक निकाय हो । रा.प.बैठकले २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन पनि गर्नेछ । रा.प बैठकमा समाजका जिल्ला शाखाहरूबाट प्रतिनिधि तथा पर्यवेक्षकहरू गरी २५० भन्दा बढीको सहभागिता रहने छ ।

यसैबीच राजनीतिक दलको विभिन्न तहको पद धारण गरेका कारण केन्द्रीय कार्यसमितिका उपसभापति लक्ष्मीनारायण मिश्र, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, केन्द्रीय सदस्यहरू सुशीला रिजाल र रोजिना विष्ट, केन्द्रीय कार्यसमितिका सल्लाहकार रामकृष्ण बरालले शान्ति समाज केन्द्रीय समितिमा धारण गरेको पदबाट दिनुभएको राजीनामा, उहाँहरूले गरेको योगदानप्रति धन्यवादसहित केन्द्रीय समितिले स्वीकृत गरेको छ । साथै काठमाडौँ शाखा सभापति विकास थापाले पनि सोही कारण राजीनामा दिएको हुँदा उपसभापति सार्जन चापागाईँ काठमाडौँ शाखाको कार्यवाहक सभापति हुनुभएको छ । 

यसै गरी व्यक्तिगत कारण दर्शाइ केन्द्रीय सदस्य शम्भु राउतले दिनुभएको राजीनामा पनि धन्यवादसहित स्वीकृत गरेको छ । 

समाजका तर्फबाट

प्रकाश शाही

महासचिव, मानव अधिकार तथा शान्ति समाज, केकास

२७ असोज २०८३


2026-10-13 14:41:55

मुगुका २० बालिकालाई छात्रवृत्ति प्रदान

प्रेस विज्ञप्ति 

मुगुका २० बालिकालाई छात्रवृत्ति प्रदान 

मानव अधिकार तथा शान्ति समाजले मुगुका १० विद्यालयका दलित समुदायका विपन्न २० जना बालिकालाई  १० हजारका दरले रु. २ लाखको छात्रवृत्ति प्रदान गरेको छ । २०८३ असोज २२ गते गमगढीमा सम्पन्न शान्ति समाज मुगु शाखाको जिल्ला साधारण सभाका दौरान वर्ष २०८३ को छात्रवृत्ति वितरण गरिएको हो । मुगु शाखा सभापति चित्रबहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका महासचिव प्रकाश शाही, सुर्खेत शाखा सभापति एस आर पाण्डे, सचिव रेशमबहादुर भण्डारी लगायतले शान्ति समाजको जलवायु न्याय र सद्भाव प्रवद्र्धन अभियानबारे प्रकाश पार्नुभएको थियो ।    

शान्ति समाजले २०८० सालदेखि लगातार तीन वर्षसम्म छोरी पढाऔँः गरिमा बढाऔँ भन्ने आह्वानसहित कर्णालीका बालिकाहरूलाई २७ लाख ९६ हजारको छात्रवृत्ति प्रदान गरेको थियो । सोही कार्यलाई निरन्तरता दिन २०८२ सालमा  शान्ति समाजले स्थापना गरेको अक्षयकोषबाट प्राप्त हुने व्याज रकमबाट विकट कर्णालीका २० जना बालिकालाई यस वर्षको छात्रवृत्ति  प्रदान गरिएको हो । यो अक्षयकोषमा समाजका महासचिव प्रकाश शाहीबाट ४ लाख, पूर्व वरिष्ठ उपसभापति कृष्णबहादुर रावलबाट ३ लाख, निवर्तमान सभापति रामकृष्ण बरालबाट २ लाख, पूर्व सभापति होमकान्त चौलागाईबाट २ लाख, शैशव खनालका अभिभावकबाट २ लाख, आर्या पाण्डेका अभिभावकबाट २ लाख, सभापति रेनुका पौडेलबाट १ लाख, संस्थापक सदस्य कृष्ण कँडेलबाट रु. १ लाख, सल्लाहकार रामप्रसाद जोशीबाट रु. १ लाख, केन्द्रीय सदस्य मणिराम दाहालबाट १ लाख गरी १९ लाख जम्मा भइसकेको छ । 

समाजका तर्फबाट 

सरिता पौडेल

उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज

२२ असोज २०८३


2026-10-08 13:50:42

जलवायु क्षतिपूर्ति सुनिश्चित गर, जलवायु न्याय हाम्रो अधिकार

प्रेस विज्ञप्ति
जलवायु क्षतिपूर्ति सुनिश्चित गर, जलवायु न्याय हाम्रो अधिकार
४५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) का अवसरमा मानव अधिकार तथा शान्ति समाजले “शान्तिका लागि सद्भावः जलवायु न्याय हाम्रो अधिकार” भन्ने आह्वानसहित विभिन्न जिल्लामा प्रदर्शन तथा नागरिक संवाद कार्यक्रम गरेको छ । यस क्रममा २०८३ असोज ५ गते काठमाण्डौँको माइतीघरमा दिउँसो आधा घण्टा भएको कार्यक्रममा हिमालयको काखमा सुन्दर नेपालः छिमेकीहरूबाट खप्दै छ दोहोरो मार, रसुवा त्रासदीबाट सिक्नु पर्ने पाठः नदी किनाराका बस्तीहरूको वर्गीकरण र सुरक्षित पुर्नवास, सीमा पार हुने जलवायु तथा नदीजन्य जोखिम न्यूनीकरणका लागि नेपाल–चीन र भारतबीच सहकार्य एवम् वैज्ञानिक सूचना साझेदारी आवश्यक, जलवायु न्यायको आवाज–केन्द्रबिन्दुमा समता र मानव अधिकार, प्रकृतिको स्वभाव अनुरूप सभ्यतालाई परिमार्जन गरौँ, उद्धार राहत र पुनर्वासका लागि शीघ्र स्थायी संयन्त्र गठन गरौँ, हिमालय/नदीनाला मैत्री नीति अवलम्बन गरौँ, विकास निर्माणको परम्परागत शैली पुनरावलोकन गरौँ, विनाशमुखी होइन संरक्षणमुखी विकासको मार्ग रोजौँ, विनाशबाट बच्ने संयन्त्र निर्माणमा विलम्ब नगरौँ, जलवायु शिक्षा पाठ्यक्रममा समावेश गरौँः जलवायु संस्कृति प्रवद्र्धन गरौँ,
चुरे संरक्षण गरौँः मधेश मरुभूमिकरण हुनबाट रोकौँ, भावी पुस्तालाई सुरक्षित प्रकृति हस्तान्तरण गर्ने दायित्व निर्वाह गरौँ, प्रकृतिमैत्री जीवन धारा अवलम्बन गरी अन्तरपुस्ता न्यायलाई सुनिश्चित गरौँ, संवेदनशील हिमालय क्षेत्रलाई अशान्त एवम् थप अस्थिर नबनाऔँ, पारिस्थितिक सन्तुलन कायम गरौँ,जलवायु न्याय सुनिश्चित गरौँ, सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरुनै जलवायु परिवर्तनका कारण हुने दुर्घटना र क्षतिका मूल जिम्मेवार भएकोले सोको क्षतिपूर्ति पनि तिनै राष्ट्रहरूले बहन गर्नु पर्छ,  हिमालयमा कुनै पनि प्रकोप हुनु भनेको हिमाद्रि, महाभारत, चुरेदेखि नेपालको समस्त तराई मधेशमा सङ्कट गहिरिनु हो, जलवायु परिवर्तनका कारण हुने आन्तरिक विस्थापन र जलवायु आप्रवासन लगायतका विषयमा राष्ट्रिय नीति तथा कानुन आवश्यक, सङ्घ,प्रदेश र स्थानीय तहमा जलवायु बजेटको प्रभावकारिता सहित समन्वय आवश्यक,  चाल्नी जस्तो चुरेको संरक्षण गरौँः तराई मधेशलाई बाढी र डुबानबाट बचाउ, जलवायु परिवर्तनका कारण सबैभन्दा मारमा परेका विपन्न, वञ्चित समुदाय तथा राष्ट्रलाई न्याय एवं संरक्षण गर,  प्रकृति माथि न्याय गरः नेट जिरो लक्ष्य कायम गर, जलवायु क्षतिपूर्ति सुनिश्चित गर, जलवायु न्याय सुनिश्चित गरः प्रकृति र भावी पुस्ताको भविष्य माथि खेलबाड बन्द गर, जगत्मुखी, जीवनमुखी, सेवामुखी अभियान जलवायु न्यायका लागि शान्ति समाजको आह्वान, सद्भाव प्रवद्र्धनका लागि सहकार्यः सद्भाव बिथोल्नेहरूलाई दण्डित गर लेखिएको प्लेकार्डहरू प्रदर्शन गरिएको थियो ।
यसै क्रममा शान्ति समाजको पाल्पा शाखाले असोज ४ गते र सुनसरी शाखाले असोज ५ गते नागरिक संवाद र सुर्खेत, चितवनसहित आधा दर्जन शाखाले प्रदर्शन गरेका छन् ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
५ असोज २०८३

2026-09-21 15:22:01

जलवायु न्याय हाम्रो अधिकार भन्ने आह्वानसहित शान्ति दिवस मनाइने

प्रेस विज्ञप्ति

जलवायु न्याय हाम्रो अधिकार भन्ने आह्वानसहित शान्ति दिवस मनाइने

मानव अधिकार तथा शान्ति समाजले “शान्तिका लागि सद्भाव: जलवायु न्याय हाम्रो अधिकार” भन्ने आह्वानसहित ४५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) मनाउने भएको छ । यस क्रममा २०८३ असोज ५ गते विभिन्न जिल्लामा प्रदर्शन, संवाद लगायतका कार्यक्रम आयोजना हुने छ । 

स्मरणीय छ, शान्ति समाजले विगत दुई दशकदेखि जलवायु न्याय केन्द्रित अभियान सञ्चालन गर्दै आएको छ भने हरित गृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्वरमा रहेका चीन र भारतको कारण हिमालय प्रभावित भएको हुँदा ती देशहरूबाट क्षतिपूर्ति उपलब्ध गराउन नेपालले अभियान अगाडि बढाउनुपर्छ भन्ने धारणासहित हिमालय बचाउ नदी जोगाउ अभियान समेत सञ्चालन गर्दै आएको छ । यसैगरी शान्ति समाजले हिमालय संरक्षणका विषयमा केन्द्रित रही चीन र भारतसँग सहकार्यमा निरन्तर जोड दिँदै आएको छ । 

२०६४ सालमा “जलवायु परिवर्तनका कारण विस्थापित/शरणार्थी हुनसक्ने सम्भावना र त्यसका कारण, मात्रा (सङ्ख्या) आदिबारे समयमै पहिचान गरी सम्भावित प्राकृतिक विपत्तिको सामना तथा व्यवस्थापन गर्न राज्य गम्भीर भई त्यस्तो बेला उद्धार, राहत र पुनर्वासका लागि आवश्यक जनशक्तिसहितको बलियो र स्थायी संयन्त्र र पूर्वाधार खडा गर्नुपर्छ । ” भन्दै शान्ति समाजले देशव्यापी रूपमा अभियान थालेको थियो जुन निरन्तर छ । स्मरणीय छ, शान्ति समाजले संविधानको प्रस्तावनामानै “जीवनचक्र परिस्थिति सन्तुलन” समावेश गर्न आह्वानसहित अभियान सञ्चालन गर्दै आएको छ । 

समाजका तर्फबाट

रेनुका पौडेल

सभापति, मानव अधिकार तथा शान्ति समाज

२२ भदौ २०८३

2026-09-07 14:23:48

प्रेसमा प्रहरीको छापा निन्दनीय

प्रेस विज्ञप्ति

प्रेसमा प्रहरीको छापा निन्दनीय

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते राति प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारे मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ। प्रेसबाट कुनै त्रुटि  भए नियामक निकायहरू मार्फत निरूपणको विधि छदा छदै पत्रकारको गिरफ्तारी आपत्तिजनक छ।  यसै गरी सो गिरफ्तारी पश्चात्  साउन २८ गते बिहान पत्रकार श्रेष्ठ सम्पादक रहेको जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेर कम्प्युटर सहित विभिन्न सामग्री नियन्त्रणमा लिनु निन्दनीय छ, दुराशय युक्त देखिन्छ, जुन प्रेस स्वतन्त्रता, मौलिक हक र नेपालको संविधानको उल्लङ्घन  हो । तसर्थ शान्ति समाज पत्रकार श्रेष्ठको शीघ्र रिहाइ र प्रेस माथिको आक्रमण बन्द गर्न सरकारलाई आग्रह गर्दछ।

स्मरणीय छ एकातिर नेपालको संविधानको प्रस्तावना मानै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएको छ भने  संविधानको धारा १९ मा मौलिक हक अन्तर्गत सञ्चारको हक प्रत्याभूत गरिएको छ । जसको उपधारा २ मा सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्रीजफत गरिने छैन भन्ने सुनिस्चित गरिएको छ। यसै गरी नेपाल राज्य पक्ष रहेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्रको धारा १९ स्मरणीय छ भने पत्रकारहरूको सुरक्षाको लागि सूचनाको श्रोत खुलाउन सञ्चार जगत् बाध्य नभएको पत्रकारिताको विशेष प्रिभिलेज सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता सबैले अवलम्बन गर्नुपर्छ ।

 

रेनुका पौडेल

सभापति

मानव अधिकार तथा शान्ति समाज

२८ साउन २०८३ 

 

2026-08-13 10:03:46

सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना

प्रेस विज्ञप्ति
सद्भाव प्रवर्द्धन अभियानमा साथ र शुभकामना
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले २०८३ साउन २० गते राष्ट्रपति रामचन्द्र पौडेल र उप राष्ट्रपति रामसहाय प्रसाद यादव सँग भेटी सद्भाव र सहिष्णुता प्रवर्द्धनका लागि  शान्ति समाजले प्रारम्भ  गरेको तोड्न होइन, जोडन योगदान गर्न आग्रहसहितको सद्भाव एकता अभियानबारे अवगत गराएको छ । राष्ट्रपति कार्यालय महाराजगन्जमा भएको भेटमा राष्ट्रपति पौडेलले शान्ति समाजले लोकतान्त्रिक आन्दोलन, स्वतन्त्रता र शान्ति प्रक्रियामा निर्वाह गरेको भुमिका प्रसंशनीय रहेको भन्दै  सद्भाव प्रवर्द्धनको यस अभियानमा आफ्नो साथ र शुभकामना रहेको बताउनुभयो । यसैगरी उप राष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटमा उप राष्ट्रपति यादवले सद्भाव र सहिष्णुता प्रवद्र्धन अहिलेको प्रमुख आवश्यकता भएको र सवैले त्यसैको लागि योगदान गर्नुपर्ने बताउनुभयो ।
साउन २० गते शान्ति समाजको प्रतिनिधिमण्डलले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग भेटी छलफल गरेको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको छलफलमा संसदले यस विषयमा राष्ट्रिय सङ्कल्प पारित गरी साझा धारणासहित सबै क्षेत्रसँग सहकार्यको अपेक्षा शान्ति समाजले गरेकोबारे ध्यानाकर्षण गराइएको थियो । साथै ४ महिनाको सरकारको कार्य सम्पादनबारे शान्ति समाजले प्रकाशित गरेको अवधारणा पत्रबारे पनि जानकारी गराइएको थियो । 
यसैगरी नेपाली काङ्ग्रेसका सभापति गगन थापासँग साउन १९ गते संस्थापक सभापति कृष्ण पहाडीको आवास गौशालामा सद्भाव प्रवर्द्धन हेतु राजनीतिक समाज र नागरिक समाजबिच सहकार्य लगायत विषयमा छलफल भएको थियो ।
प्रतिनिधिमण्डलहरूमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सभापति रेनुका पौडेल, पूर्व सभापतिहरू होमकान्त चौलागाई, रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गोतामे, रोजिना विष्ट, पूर्व कोषाध्यक्ष किरण ढकाल, काठमाण्डौ शाखा सभापति विकास थापा, उपसभापति सार्जन चापागाई सचिव रविना धमला, ललितपुर शाखा सभापति बाबुराम न्यौपाने, काठमाण्डौ शाखाका पूर्व सभापति ईश्वर पुडासैनी  लगायतको सहभागिता थियो । 

शान्ति समाजले विभिन्न जिल्लामा सुरु गरेको सद्भाव एकता र्‍याली हाललाई स्थगन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सो र्‍यालीहरू जानकारी गराउँदा विद्यमान अवस्थामा प्रदर्शन नगर्न मौखिक अनुरोध गरेकोले ४ वटा र्‍याली पश्चात हाललाई स्थगन गरिएको हो । 
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२० साउन २०८३
 

2026-08-05 18:20:18

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links