9851240117

hurpes@gmail.com

Home

About us

Others

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस–२० नोभेम्बर ५ मंसिर

Event date:

2024-11-20


अन्तर्राष्ट्रिय बाल अधिकार दिवस–२० नोभेम्बर

संयुक्त राष्ट्रसंघ महासभाले २० नोभेम्वर १९८९ का दिन बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको थियो । यही ऐतिहासिक कदमको स्मृतिमा २० नोभेम्बरलाई अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका रूपमा मनाइन्छ । यो महासन्धिले बालबालिकाहरू को हुन्, उनीहरूका अधिकारहरू के के हुन् र सरकारहरूको जिम्मेवारी के हो भन्ने व्याख्या गरेको छ । 

ती सबै अधिकारहरू आपसमा जोडिएको, समान रूपमा महत्वपूर्ण हुनुका साथै बालबालिकाहरूबाट खोस्न नसकिने पनि महासन्धिले प्रष्ट गरेको छ । गैर–भेदभाव, बालबालिकाको सर्वोत्तम हित, जीवन अस्तित्व र विकासको अधिकार, सुनुवाईको अधिकार महासन्धिका महत्वपूर्ण सिद्धान्तहरू हुन् । 

पृष्ठभूमिमा सन् १९५४ मा संयुक्त राष्ट्रसंघले सबै देशलाई बाल दिवस मनाउन सुझाव दिएको थियो । यसैगरी महासभाले २० नोभेम्वर १९५९ मा बाल अधिकार घोषणापत्र पारित गरेको थियो जसले बालबालिकको संरक्षण, शिक्षा, स्वास्थ्य, हेरचाह, आश्रय र असल पोषणको अधिकारलाई परिभाषित गरेको थियो । २० नोभेम्वर १९८९ मा जारी भएको बाल अधिकार महासन्धिलाई विश्वका १९६ देशले अनुमोदन गरेका छन् (अमेरिकाले यो महासन्धिमा हस्ताक्षर गरे पनि अनुमोदन गरेको छैन) । नेपालले यो महासन्धिलाई १४ सेप्टेम्वर १९९० मा अनुमादेन गरेको थियो र त्यही दिन अर्थात २९ भदौलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको देखिन्छ । सन् २०२३ मा ३४ औ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको थियो । 

यसैगरी २५ मे २००० मा राष्ट्रसंघ महासभाद्वारा बाल अधिकारसम्बन्धी महासन्धिको थप २ वटा स्वेच्छिक उपलेखहरू पारित गरी हस्ताक्षर अनुमोदनका लागि खुला गरिएको थियो । त्यसमध्ये पहिलो, सशस्त्र द्वन्द्वमा बालबालिकाको संलग्नताका सम्बन्धमा स्वेच्छिक उपलेख थियो भने दोस्रो बालबालिकाको बेचविखन, बाल वेश्यावृत्ति तथा बाल अश्लिल चित्रण सम्बन्धमा व्यवस्था भएको स्वेच्छिक उपलेख थियो । नेपालले यी दुवै स्वेच्छिक उपलेखहरूलाई समेत अनुमोदन गरिसकेको छ । साथै सञ्चार प्रक्रिया सम्बन्धी बाल अधिकार महासन्धिको तेस्रो स्वेच्छिक उपलेख समेत जारी भई सन् २०१४ देखि लागू भइसकेको छ जसलाई नेपालले अनुमोदन गरेको छैन । 

बाल अधिकार नैसर्गिक अधिकार हो । बाल अधिकार नै सुनौलो भविष्यको आधार हो  । बालबालिकाको संरक्षण, स्याहारसुसार, कल्याण, व्यक्तित्व विकास र सबल नागरिकका रूपमा खडा गर्न राज्य, समाज र परिवारले निर्वाह गर्नुपर्ने दायित्व नै बाल अधिकारको केन्द्रविन्दु हो । बालबालिकासँग सम्बन्धित सबै कार्यमा बालबालिकाको सर्वोत्तम हित नै प्राथमिक विचार हुनुपर्छ ।

आफ्नो व्यक्तित्वको पूर्ण तथा सामञ्जस्यपूर्ण विकासका लागि बालबालिकाले पारिवारिक वातावरण, प्रसन्नता र माया ममता पाउनुपर्छ । बालबालिकालाई विशेष संरक्षण र स्याहारसुसार पु¥याउनुपर्छ भने शिक्षाको अधिकारबाट कुनै पनि बालबालिका वञ्चित हुनु हुँदैन ।

शान्ति समाजले विभिन्न कार्यक्रम आयोजना गरी बाल अधिकार दिवस मनाउँछ । स्मरणीय छ, शान्ति समाजले आयोजना गर्ने कुनै पनि प्रकारको जुलुस तथा आमसभामा १६ वर्ष मुनिका बालबालिकालाई सहभागी नगराउने नीति रहेको छ । राजनीतिक दलहरू तथा अन्य संघ संस्थाले पनि यही नीति अनुसरण गर्न शान्ति समाजले आग्रह गर्दै आएको छ ।  


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links