9851240117

hurpes@gmail.com

Home

About us

Others

भ्रष्टाचार विरूद्ध अन्तर्राष्ट्रिय दिवस–९ डिसेम्बर

Event date:

2024-12-09

भ्रष्टाचार विरूद्ध अन्तर्राष्ट्रिय दिवस–९ डिसेम्बर

सन् २००३ अक्टोवर १३ को दिन राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचार विरूद्धको महासन्धि पारित गरेको थियो । यो महासन्धि सन् २००५ को १४ डिसेम्बरमा लागू भएको थियो । महासभाले डिसेम्बर ९ लाई भ्रष्टाचार विरूद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय पनि ग¥यो जसको उद्देश्य थियो, भ्रष्टाचार विरूद्ध जन चेतना जोगाउनु । नेपालले भ्रष्टाचार विरूद्धको यो महासन्धिलाई २०११ मा अनुमोदन गरेको थियो । यो महासन्धि कानूनी रूपमा वाध्यकारी एकमात्र भ्रष्टाचार विरोधी विश्वव्यापी औजार हो । यो महासन्धिको दूरगामी दृष्टिकोण र यसका कतिपय प्रावधानहरूको अनिवार्य प्रकृतिले यसलाई विश्वव्यापी समस्याप्रति व्यापक प्रतिकृया विकास गर्नका लागि अपूर्व औजार बनाउँछ । 

यो महासन्धिले भ्रष्टाचार उन्मुलनका लागि निवारक उपाय, अपराधीकरण र कानुन प्रवर्तन, अन्तर्राष्ट्रिय सहयोग, सम्पत्ति वसुली र प्राविधिक सहयोग तथा सुचना आदानप्रदान गरी मुलत ५ वटा क्षेत्रलाई समेटेको छ । महासन्धिले घुसखोरी, प्रभावमा व्यापार, कार्यहरूको दुरूपयोग र निजी क्षेत्रमा हुने भ्रष्टाचारको अनेकौ कृत्यलाई समेट्छ । 

यो महासन्धिका राज्यपक्षहरूले, भ्रष्टाचारका कारण सामाजिक स्थायित्व, सुरक्षामा उत्पन्न हुने गम्भीर समस्या र चुनौती, लोकतन्त्रको मूल्य र सो सम्बद्ध संस्थाको नैतिक मूल्य र न्यायप्रतिको उपेक्षा एवम् दिगो विकास तथा कानुनको शासनप्रतिको खतराप्रति सरोकार राख्दै, भ्रष्टाचार र अन्य किसिमका अपराध, खासगरी मुद्रा निर्मलीकरण लगायतका सङ्गठित अपराध र आर्थिक अपराधको अन्तरसम्बन्धप्रति पनि सरोकार राख्दै, गैरकानुनी रूपमा आर्जन गरिएको व्यक्तिगत सम्पत्तिले खासगरी लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय अर्थव्यवस्था एवम् कानुनको शासनलाई क्षति पु¥याउने कुरामा विश्वस्त हुँदै, गैरकानुनी रूपमा आर्जित सम्पत्तिलाई अन्तर्राष्ट्रिय रूपमा एकबाट अर्काे देशमा सार्ने कुरालाई अझ प्रभावकारी तरिकाबाट रोकथाम गर्ने, पत्ता लगाउने र दुरूत्साहित गर्ने र सम्पत्ति फिर्ता गराउने कार्यमा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्नेबारे अठोट सहित प्रतिवद्धता व्यक्त गरेका छन् । 

यसैगरी महासन्धिले भ्रष्टाचार निवारण र उन्मूलन सबै राज्यहरूको उत्तरदायित्व भएको र राज्यहरूले सार्वजनिक क्षेत्र बाहिरका नागरिक समाज, गैरसरकारी संस्था र समुदायमा आधारित सङ्गठनहरूको प्रयास, यस क्षेत्रमा प्रभावकारी हुने भएसम्मका व्यक्ति तथा समूहहरूको समर्थन र संलग्नतामा एकअर्कालाई सहयोग गर्नुपर्ने कुरालाई समेत ध्यानमा राख्दै, सार्वजनिक सम्पत्ति र सार्वजनिक कार्यहरूको समुचित व्यवस्थापनका सिद्धान्त, निष्पक्षता, उत्तरदायित्व र कानुनको अगाडि समानता र स्वाभिमानको रक्षाको आवश्यकता एवम् भ्रष्टाचारलाई इन्कार गर्ने संस्कृतिलाई परिपालित गर्न जोड दिएका छन् ।


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links