9851240117

hurpes@gmail.com

Home

About us

Others

press releases/ प्रतिगामी विधेयक विरुद्ध शान्ति समाजले देशव्यापी अभियान गर्ने

प्रतिगामी विधेयक विरुद्ध शान्ति समाजले देशव्यापी अभियान गर्ने

2025-02-05 11:18:14

By peace society nepal

प्रेस विज्ञप्ति

प्रतिगामी विधेयक विरुद्ध शान्ति समाजले देशव्यापी अभियान गर्ने


राष्ट्रिय सभामा पेश भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई मानव अधिकार तथा शान्ति समाजले प्रतिगामी विधेयकको संज्ञा दिएको छ । २०८१ माघ २३ गते समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले उक्त विधेयकका केही प्रावधान संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरित दुरुपयोग हुन सक्ने खतरा रहेकोले सो को विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

सुचना प्रविधि एवं सामाजिक सञ्जालको आवश्यकता, महत्व र उपयोगिता चुलिदै गएको विश्वव्यापी सन्दर्भमा सो को प्रयोगलाई आम नागरिकको पहुँचमा पुर्याउन र सहज तुल्याउन प्रोत्साहन गर्नुको सट्टा यो विधेयकले निरुत्साहित तुल्याउने खतराप्रति केकास बैठकले गम्भिर चिन्ता समेत व्यक्त गरेको छ । 

विधेयकको उद्देश्य र कारणमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानून निर्माण गर्नुपर्ने आवश्यकता उल्लेख गरिएको छ जुन स्वभाविक छ तर कतिपय प्रावधान द्विअर्थी र क्लिष्ट हुनुका साथै विधेयकमा निहित प्रावधानहरुले नियमनको नाममा नियन्त्रण गर्ने नियत देखिन्छ भने व्यवस्थित गर्ने नाममा प्रयोगकर्ताहरुमा थप झन्झट सिर्जना गरि निषेधात्मक मार्गतर्फ अग्रसर भएको हो कि भन्ने आशंका उब्जिन्छ । यसैगरी मर्यादित र सुरक्षित बनाउने उद्देश्य शब्दमा सहि भएपनि दण्डात्मक र प्रतिबन्धात्मक आशय झल्किन्छ । तसर्थ सरोकारवालाहरुसँग व्यापक परामर्श र सहमति पश्चात मात्र विधेयक अघि बढाउन शान्ति समाज आग्रह गर्दछ  ।

यसैगरी पत्रकार, वकिल, प्राध्यापक, अधिकारकर्मी लगायत मानव अधिकार रक्षकहरु कुनै पनि अवस्थामा सुरक्षित हुनुपर्नेमा समेत शान्ति समाजले जोड दिएको छ । पञ्चायतकालीन संस्था दर्ता ऐन २०३४ लाई लोकतान्त्रिक समाजको मुल्य र मर्म अनुरुप संसोधन गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने निर्णय पनि केन्द्रीय कार्यसमितिले गरेको छ । 

केकास बैठकले शान्ति समाजको सल्लाहकारमा निवर्तमान सभापति रामकृष्ण बराल काठमाण्डौ र रामप्रसाद जोशी नुवाकोटलाई नियुक्त गरेको छ । 

यसैगरी केन्द्रीय कार्यसमितिको ६ जना सदस्यमा नम्रता खरेल काठमाण्डौ, रुपा पुडासैनी काठमाण्डौ, सीता यरी सुर्खेत, रोजिना विष्ट काठमाण्डौ, रत्ना कँडेल रुपन्देही र मणिराम दाहाल काठमाण्डौ लाई मनोनयन गरेको छ । यस प्रकार केन्द्रीय कार्यसमितिमा महिला प्रतिनिधित्व ४२ प्रतिशत पुगेको छ भने अपांगता भएका सदस्यबाट समेत केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व रहेको छ ।  

यसैगरी अनुशासन समितिको संयोजकमा पूर्व वरिष्ठ उपसभापति कृष्णबहादुर रावल पाल्पा र सदस्यहरुमा दिलबहादुर कार्की कपिलवस्तु र प्रतिमा महतो महोत्तरीलाई नियुक्त गरेको छ भने सदस्यता अपिल समितिको संयोजकमा पूर्व कोषाध्यक्ष किरण ढकाल काठमाण्डौ र सदस्यहरुमा खिम (कृष्ण) भट्टराई रुपन्देही र सानु लामा काठमाण्डौलाई नियुक्त गरेको छ । 


समाजका तर्फबाट

प्रकाश शाही

महासचिव, मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमिति

२३ माघ २०८१


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links