9851240117
hurpes@gmail.com
2025-03-14 10:47:24
By peace society nepal
प्रेस विज्ञप्ति
सामाजिक न्यायका अभियन्ता पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ २०८१ सामाजिक न्यायका लागि विशिष्ट योगदान हेतु अभियन्ता पदम सुन्दासलाई प्रदान गर्ने निर्णय मानव अधिकार तथा शान्ति समाजले गरेको छ । प्रत्येक वर्ष प्रदान गरिने रु. १ लाख १० हजार राशीको यो पुरस्कार सुन्दासलाई प्रदान गर्ने निर्णय शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न पुरस्कार छनौट समितिले गरेको हो ।
२००२ साल असार ३२ गते भोजपुरमा जन्मनुभएका सामाजिक न्यायका प्रखर अभियन्ता पदम सुन्दासले बहराइनका लागि नेपालको राजदुतका रुपमा २०७४ देखि ७८ सम्म ४ वर्ष कार्य गर्नुभएको थियो ।
सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालय अन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिको सदस्य (जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन संयन्त्र) को रुपमा समेत भूमिका निर्वाह गरिसक्नुभएको छ ।
सामाजिक न्यायका लागि क्रियाशील एक दर्जन बढी संस्थामा आवद्ध सुन्दासले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गर्नुभएको थियो । उहाँले सामाजिक न्यायको खातिर अनसन लगायत विभिन्न संघर्षहरुमा योगदान गर्नुका साथै २०७२ सालमा दलितमैत्री संविधानको लागि तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो ।
नेपाल सरकार स्थानीय विकास मन्त्रालय, उपेक्षित उत्पीडित तथा दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षको रुपमा समेत सेवा गर्नुभएका सुन्दास नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको २० वर्ष सम्म अध्यक्ष, नेपाल उत्पीडित दलित जातीय मुक्त समाज, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको उपाध्यक्षका रुपमा समेत कार्य गरिसक्नुभएको छ ।
उहाँ एशिया दलित अधिकार मञ्चको संस्थापक सदस्य समेत हुनुहुन्छ । सुन्दासको भोजपुरको चिनारी नामक पुस्तक र चोरिएको रात कथा संग्रह २०२५ सालमा प्रकाशित भएको थियो ।
दक्षिण अफ्रिकामा सन् २००१ मा सम्पन्न जातीभेद विरुद्धको तेस्रो विश्व सम्मेलन, स्वीजरल्याण्डमा सन् २००९ मा सम्पन्न डर्बान रिभ्यु कन्फरेन्स लगायत दर्जन बढी अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सुन्दासको सहभागिता रहेको थियो । सन् २००८ मा उहाँले संविधान निर्माण प्रक्रिया अध्ययनका क्रममा भारतको भ्रमण गर्नुभएको थियो भने मानव अधिकार र दलित समस्याबारे सन् २०१४ मा न्यु स्कुल अमेरिकामा प्यानलिस्टको रुपमा रहनुभएको थियो ।
पदम सुन्दास २०७३ सालमा नेपाल सरकार संस्कृति पर्यटन मन्त्रालयबाट भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।
समाजका तर्फबाट
प्रकाश शाही
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
१ चैत २०८१
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links